उपाध्यक्ष राईले एमाले छाड्दै
http://sindhulidarpan.blogspot.com/2012/10/nepal.html
काठमाडौं, असोज १८ ।
एमाले उपाध्यक्ष अशोक राईसहित असन्तुष्ट नेताहरूले आज पार्टी परित्याग गर्दै छन् । एमालेले उत्पीडित जातिको अधिकारलाई अस्वीकार गरेको आरोप लगाउँदै ५ महिनादेखि अन्तरसंघर्ष जारी राखेका उपाध्यक्ष राईसहित केन्द्रीय समितिका पाँच नेताले पार्टी परित्याग गर्न लागेका हुन् । उपाध्यक्ष राई नेतृत्वको ‘अग्रगामी विचार समूह’का नेताहरूले राष्ट्रिय सभागृहमा औपचारिक सभामार्फत पार्टी परित्याग गर्ने अग्रगामी विचार समूहका नेता अजम्बर राई काङमाङले बताउनुभयो ।
उपाध्यक्ष अशोक राईसहित पोलिटब्युरो सदस्य विजय सुब्बा, केन्द्रीय सदस्य रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ र अजम्बर राई काङमाङले पार्टी परित्याग गर्नेछन् । देशव्यापी रूपमा कार्यकर्ता बोलाइएको भनेर प्रचार भए पनि काठमाडांैमा भएका नेताहरूलाई मात्रै बोलाइएको नेता राईले बताउनुभयो ।
स्रोतका अनुसार ६० वटा जिल्ला कमिटीबाट पार्टी छाड्ने नेताहरुको लिस्ट आएको छ । तर, आजै सार्वजनिक गर्ने कि नगर्ने भन्ने विषयमा अन्योल छ । पार्टी छाड्नेमा दुई दर्जनभन्दा बढी पूर्वसभासद् भए पनि उनीहरूको नाम भने सार्वजनिक नगर्ने बताइएको छ । संविधानसभा पुनःस्थापना हुने सम्भावनालाई ध्यानमा राखेर उनीहरूको नाम गोप्य राखिएको स्रोतको दाबी छ । पार्टी घोषणा गर्न अन्तिम तयारी गरेर उनीहरूले पार्टी छाड्न लागेका हुन् । स्रोतका अनुसार पार्टीको अवधारणापत्र, विधान र कार्यक्रम तयार भएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !