पति वेपत्ता भएपछि तीन वर्ष देखि हलो जोतेरै गुजारा

http://sindhulidarpan.blogspot.com/2012/10/women.html
दैलेख, असोज २७ ।
पैसा कमाउन भारत गएका पति तीन बर्षदेखि घरमा नफर्के पछि दैलेख जिल्ला अवलपराजुल गाविसकी एक महिलाले हलो जोतेर खेतीबाली लगाउँने गरेकी छन् । सोही उब्जनीबाट उनले आफ्नो परिवारको जीवन गुजारा चलाएकी छन् । अवलपराजुल–५, सानो ओइरीकी ३८ वर्षीय सुशीला पुनमगरका पति देवबहादुर पुनमगर तीन बर्षदेखि घरपरिवारबाट बेखबर छन् । छोराछोरीको पालनपोषण, अन्य घरायसी कामकाजदेखि खेतीपाती लगाउने कठिन काम समेत सुशीलाले तीन वर्षदेखि एक्लै गर्दै आएकी छन् ।
भारतको अल्मोडामा ६ महिनाका लागि भनेर पैसा कमाउन गएका देवबहादुर तीन बर्ष देखि घरमा सम्पर्क गरेका छैनन् । ‘पैसा कमाउन भारत गएदेखि केही खबर आएको छैन,’ आँशु पोच्छदै सुशीलाले भनिन्, ‘उहाँ सँगै भारत गएका साथीहरु घर आए तर उहाँ आउनु भएको छैन ।’ भारतबाट मजदुर गरेर गाउँ फर्केकाहरुले देवबहादुरका बारेमा कुनै जानकारी नरहेको बताउ छन् ।
अन्न उब्जनी हुने खेतबारी समेत थोरै भएपछि उत्पादनले छोराछोरीलाई खाना, लत्ता कपडा र अन्य काम गर्न निकै मुस्किल परेको सुशीलाको गुनासो छ ।
गुजारा चलाउन आफ्नो काम बाहेक छिमेकीको मेलापातमा समेत सघाउनु पर्ने बाध्यता रहेको उनले बताईन् । ‘खेतबारी जोत्ने काम अरुलाई दियो भने पैसा माग्छन,’ उनले भनिन्, ‘बरु आफै जात्छु पैसा त बच्छनी ?’
‘चाडपर्वको मौका पारेर आउनु हुन्छकी भन्ने आशा लाग्छ,’ सुशीलाले भनिन् । वेपत्ता हुनु अघि पनि देवबहादुर भारतमा मजदुर गर्न जाने गरेका थिए । यद्यपि उनी समयमा घर आउने गरेको सुशीलाईको भनाई छ । सुशीलाका साथमा वृद्ध सासु, दुई छोरा र एक छोरी छन् ।
लोग्ने मान्छेले मात्रै हलो जोत्ने परम्परा गाउँमा रहेपनि सुशीलाले बाध्यताबस जोत्नु परेको स्थानीयहरुको भनाई छ । घरखर्च चलाउन समस्या भएपछि छोराछोरीको पढाईमा समेत असर परेका उनले बताईन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !