ईन्टरनेटबाटै देउसी भैलो खेलियो
http://sindhulidarpan.blogspot.com/2012/11/dipawali.html
रुपबहादुर विश्वकर्मा,
हरिवन,कात्तिक २९ ।
सर्लाहीको घुकौलीमा रहेको बालगृहमा संरक्षित द्वन्द्वपीडित बालबालिकाले आज जापानमा रहेका आफ्ना सहयोगीहरुसँग ईन्टरनेटबाट देउसी भैलो खेलेका छन् । बालगृह संचालक चेतना सन्देश नेपाल संस्थाका अध्यक्ष सुरेन्द्र लामाका अनुसार जापानमा रहेर द्वन्द्वपीडित बालबालिकाको पालनपोषण तथा पढाईका लागि सहयोग गर्दै आएका नेपाली तथा जापानिज् सङ्गीतकर्मीहरुसँग ईन्टरनेटको माध्यमबाट प्रत्यक्ष रुपमा कुराकानी गर्नुका साथै देउसी भैलो खेलिएको हो ।
अध्यक्ष लामाका अनुसार हरेक वर्ष द्वन्द्वपीडित बालबालिकाहरुको सहयोगका लागि साङ्गीतिक कार्यक्रम गर्ने चलन अनुरुप बालबालिकालाई सहयोग गर्दै आएको १० वर्ष पूरा भएको अवसरमा आज जापानका सहयोगीहरुले त्यहाँ सांगितिक कार्यक्रम राखेका थिए । त्यस क्रममा ईन्टरनेटको माध्यमबाट उनीहरुले द्वन्द्वपीडित बालबालिकासँग प्रत्यक्ष कुराकानी गर्दै यहाँको भौतिक संरचना प्रत्यक्ष रुपमा अवलोकन गरेका हुन् । संयोगवश आज नेपालमा तिहार पनि परेकाले यहाँको चाडपर्व र संस्कृतिको झलक दिन द्वन्द्वपीडित बालबालिकाहरुले जापानी सहयोगीहरुलाई देउसी भैलो भट्याएर सुनाएका लामाले बताउनुभयो ।
यसैबीच स्वदेशकै विभिन्न जिल्ला तथा विदेशमा रहेका हितैषीहरुसँग ईन्टरनेट तथा मोबाईल मार्फत् द्वन्द्वपीडित बालबालिकाहरुले देउसी भैलो खेल्ने कार्यक्रम यसवर्ष पनि राखिएको बाल गृहकी व्यवस्थापक बेची लुंगेलीले जानकारी दिनुभयो । बालगृहमा सशस्त्र द्वन्द्वका क्रममा अभिभावक गुमाएका ३२ जना बालबालिकाहरु बस्छन् भने उनीहरु चेतना सन्देश नेपालद्वारा नै सञ्चालित पञ्च ईशाका प्राथमिक विद्यालयमा पढ्ने गर्छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !