पुष्पलाल लोकमार्गको कालोपत्रे गर्ने कार्य तत्काल अगाडी बढाइने
http://sindhulidarpan.blogspot.com/2012/12/sindhuli-road.html
पोष्टराज पहाडी,
सिन्धुली,पुस ६ । निर्माणाधिन मध्य पहाडी (पुष्पलाल) लोकमार्ग अन्तरगत खुर्कोट–घुर्मी सडक खण्ड मध्ये ३६ किलोमिटर सडकको कालोपत्रे गर्ने काम तत्काल अगाडी बढाइने भएको छ । केहि समय पहिल्यै देखीनै कालोपत्रेको काम अगाडी बढाउनु पर्ने भएपनि जग्गाको मुआब्जा माग्दै जग्गाधनीहरुले काममा अबरोध गर्ने गतिविधी सञ्चालन गरेपछि सो काम अगाडी बढ्न सकेको थिएन । विहिबार जिल्लामा रहेका राजनितीक दलका प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी, मध्य पहाडी लोकमार्ग आयोजनाका प्रमुख सहितको बैठक बसेर कालोपत्रेको काम अगाडी बढाउने सहमति भएको बैठकमा संलग्न नेकपा–माओवादीकी निर कुमारी दर्लामीले सिन्धुली दर्पणसगँ वताउनुभयो । उहाँका अनुसार त्यहाँका जनताको राय र सल्लाह लिनका लागि शुक्रबार सो निर्माणाधिन सडकको स्थलगत छलफल गर्ने कार्यक्रम रहेको छ । उहाँले भन्नुभयो जनतासँग पहल गर्ने र काम अगाडी बढाउने विषयमा हामी शुक्रबार स्थलगत छलफलका लागि जादैछौ ।’
बैठकमा सहभागी एमाले सिन्धुलीका सचिव प्रह्लाद पोखरेलले नेपाल सरकारले निर्माण गर्ने कुनै पनि विकास निर्माणका काममा सरकारले मुआब्जा दिने निती नभएको भन्दै सो नितीका विषयमा स्थानीयस्तरमा बुझाउनका लागि दलहरुसहितको एक टोलीले आज स्थलगत छलफल गरेर काम अगाडी बढाउने सहमति भएको बताउनुभयो ।
उता उक्त सडकले अतिक्रमण गरेको जग्गाको मुआब्जा नै नदिई कालोपत्रे गर्ने जानकारी पाएपछि पिडीत जग्गा धनिहरुले नेपाली काँग्रेस सिन्धुलीका कोषाध्यक्ष सरद आचार्यको अध्यक्षतामा समन्वय समिती गठन गरि संघर्षको तयारी गरेका थिए । जग्गाको राजश्व आफुहरुले तिरिरहेको तर जग्गाको मुआब्जा नै नदिकन डकैती शैलीमा सडक निर्माण गरिएको भन्दै पिडीतहरुले संघर्षको तयारी गरेका हुन् ।
यस विषयमा एमाले सचिव पोखरेलले मध्यपहाडी लोकमार्गमा कालोपत्रे हुनु सिन्धुलीको विकासमा सहयोग पुग्ने कार्य भएकोले त्यस कार्य रोक्न नहुने बताउनुभयो । यस अघि देखी नै कालोपत्रे गर्ने काम अगाडी बढाइने भएपनि नेपाल सरकारको नितीमै नभएको विषयलाई लिएर दलिय स्वार्थमा विकास निर्माणको काममा अवरोध पु¥याउने गतिविधी सञ्चालन गरेको उनको आरोप छ । उहाँले भन्नुभयो – ‘त्यसरी सिन्धुलीको विकासका काममा अवरोध सिर्जना गर्नुभनेको गलत कार्य हो । यस्ता कार्यले सिन्धुलीको विकासलाई उन्नती तिर लैजादैन ।’
प्रमुख जिल्ला अधिकारी केशव आचार्यले सिन्धुलीको विकासमा सहयोग पुग्ने विकास निर्माणका कार्यलाई कसैले पनि रोक्न नहुने भन्दै आज स्थलगत रुपमा आवश्यक छलफल गरेर कालोपत्रेको काम अगाडी बढाइने बताउनुभयो । उहाँका अनुसार मध्य पहाडी लोकमार्गको यस जिल्लाको खुर्कोट–घुर्मी सडक खण्डको तत्कालै कालोपत्रे गर्ने काममा अवरोध आए आयोजनाले अर्को जिल्लामा आफ्नो काम सुरु गर्नेछ ।
विहिबार भएको छलफलमा प्रमुख जिल्ला अधिकारी केशव आचार्य, एकिकृत नेकपा माओवादीका दिर्घराज श्रेष्ठ र राजन दाहाल, नेपाली काँग्रेसका मोहन बराल, नेकपा एमालेका प्रह्लाद पोखरेल, नेकपा–माओवादीका निर कुमारी दर्लामी र डम्बर कार्की, मध्य पहाडी आयोजना प्रमुख बलराम मिश्र लगायतको उपस्थिती रहेको थियो ।
मध्यपहाडी लोकमार्ग अन्तरगत खुर्कोट–घुर्मी (पुष्पलाल) ६१ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सम्पन्न भइ हाल फराकीलो पार्ने काम भइरहेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !