युवालाई लागूऔषधको कुलतबाट जोगाउँछु




पुष्पराज श्रेष्ठ, सहसंयोजक, वाईसिएल सिन्धुली ।
सिन्धुली गैंयाटारका पुष्पराज श्रेष्ठ माघ ९ गते माओवादीको जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भट्टराईको हातबाट टीका लगाएर माओवादी प्रवेश गरे । माओवादी प्रवेशसँगै उनी पार्टी जिल्ला कमिटी सदस्य भए र वाईसिएल सिन्धुलीको सहसंयोजकको जिम्मेवारी पाए । उनी माओवादी छिरेलगत्तै उनीबारे जिल्लामा विभिन्न टिप्पणी हुने गरेका छन् । उनै श्रेष्ठसँग माओवादी प्रवेशको सेरोफेरोमा सिन्धुली दर्पणले गरेको कुराकानी 

तपाईंको बुबा कांग्रेस समर्थित हुनुहुन्छ, दाइ पनि कांग्रेसकै युवा नेता हुनुहुन्छ, तपाईंचाहिँ माओवादीमा प्रवेश गर्नुभयो, पारिवारिक माहोलले केही प्रभाव पारेन ?
राजनीतिमा पारिवारिक वातावरण भन्दा पनि विचारले प्रभाव पार्दो रहेछ । पारिवारिक वातावरणले नै मलाई राजनीतिमा ल्यायो तर राजनीतिक विचार परिवारको भन्दा पनि माओवादीको ठीक लाग्यो । परिवर्तनका लागि माओवादीको सिद्धान्त ठीक लाग्यो, त्यसैले अध्यक्ष प्रचण्ड र उपाध्यक्ष डा. बाबुराम भट्टराईको हातबाट टीका लगाएर माओवादी छिरेको हुँ ।

वाईसिएल निष्क्रियजस्तै भएको अवस्थामा तपाईं वाईसिएलको सहसंयोजक बन्नुभएको छ, तपाईबाट के आशा गर्न सकिन्छ ?
वाईसिएल निष्क्रिय भएकै छैन, पहिलेको तुलनामा चर्चा भने केही कम भएको पक्कै हो । अहिले पार्टीले ममा केही देखेरै होला, वाईसिएलको जिल्ला सहसंयोजकको जिम्मेवारी दिएको छ । मैले जिल्लावासीको हकहितमा केही राम्रै काम गर्नैपर्छ, मेरो नेतृत्व पनि त्यसैका लागि हो ।

जाँडरक्सी खाएर होहल्ला गर्ने, जुवातास खेल्नेलगायतकालाई कारबाही गरेर वाईसिएल चर्चामा थियो, अहिले वाईसिएल नै त्यस्तो कार्यमा छ भन्ने सुनिन्छ, त्यो छवि सुधार्न तपाईंको पहल के हुन्छ ?

राम्रो काम गरेर नै वाईसिएल चर्चामा आएको हो । अहिले पनि वाईसिएलले नराम्रो काम गर्दैन । वाईसिएलभित्र एक÷दुईजना त्यस्ता प्रवृत्तिका व्यक्तिहरु होलान् । वाईसिएलले त्यस्तो गतिविधि गरेको भए हामीलाई जानकारी दिनू गलत काम गर्ने अन्य व्यक्तिलाई वाईसिएलले जति सजाय दिन्थ्यो, वाईसिएलले नै त्यस्तो गरेको रहेछ भने त्यसलाई हाम्रो पार्टीले दुई गुणा बढी सजाय दिन्छ ।

तपाईंले सिन्धुलीमा वाईसिएल परिचालनसम्बन्धी केही रणनीति बनाउनुभएको छ कि ?

सर्वप्रथमः सिन्धुलीका युवामा लागूऔषधको कुलत बढेको छ, त्यो निमिट्यान्नै बनाउँछु । लागूऔषधका कारोबारी र प्रयोगकर्ताहरुलाई रंगेहात समातेर सार्वजनिक गर्छु । र, प्रशासनिक काममा हुने ढिलासुस्तीको विरोधमा कदम चाल्नेछु । कुन–कुन सरकारी कार्यालयका को–को कर्मचारीले घुस खान्छन्, लिस्ट तयार पारिसकेको छु । यदि उनीहरु नसुध्रिए प्रशासनमा खबर गर्छु र प्रशासनले कुनै कारबाही गरेन भने म पार्टी र आफ्नो तर्पबाट कारबाही अघि बढाउँछु ।

तपाईंलाई त गुन्डा भन्दा रहेछन्, अहिले तपाईं वाईसिएलको सहसंयोजक बनेपछि आतंक बढ्ने भो भनेर तपाईंको चर्चा सुनिन्छ, यसबारे तपाईं के भन्न चाहनुहुन्छ ?

म गुन्डा हुँदै होइन । हिजो पनि थिइन, आज पनि होइन र भोलि पनि हुन्न । मलाई त्यस्तो आरोप लगाउनेहरुको सोचाइ र दृष्टिकोण गलत हो । मेरो प्रगति देख्न नसक्नेहरुले लगाएको आरोप हो त्यो, र त्यही आरोपलाई गलत सावित गर्न पनि म राजनीतिमा आएको हुँ ।

तपाईं कमिसन लिएर ठेक्का मिलाइदिनुहुन्थ्यो रे, त्यो गुन्डाहरुले गर्ने काम होइन र ?

हो, मैले कमिसनमा अरुलाई ठेक्का मिलाइदिएको थिएँ । तर, ती ठेक्काहरुमा म कमिसनका लागि गएको थिइनँ । मसँग पहिलैदेखि आफ्नै ‘ख’ वर्गको लाइसेन्स छ । ठेक्का खुलेपछि म टेन्डर हाल्न जान्थेँ । मजस्तै अन्य सयौँ व्यक्ति टेन्डरका लागि गएका हुन्थे । म नयाँ थिएँ, ठेक्कापट्टा गरेर दाह्रीजुँगा फुलाइसकेकाहरुले टेन्डर बिग्रिने भो, मिलाइदेऊ बरु ठेक्काको निश्चित प्रतिशत कमिसन हामी दिन्छौँ भन्थेँ । टेन्डर हाल्ने धेरैजना लाइनमा हुन्थे, खुलामा गए आपूmलाई पर्ने सम्भावना पनि कम देखेँ र उनीहरुको कुरा मानेर टेन्डर मिलाइदिन्थेँ । त्यसबापत मैले केही रकम पाउँथेँ । ती ठेक्का पाउने ठेकेदार भए र उनीहरुले नै हामीलाई गुन्डा भनेर प्रचार गरे । ठेक्कापट्टामा लामो समयको अनुभव भएकाहरुले मलाई घुमाइदिएका हुन् । अब सिन्धुलीका जुनसुकै टेन्डरहरुमा युवाले पर्सेन्ट होइन, काम पाउने सिस्टम बसाल्छु ।

गुन्डागर्दी चर्काउन र पार्टीको खोल ओढेर थप कमाउन तपाईं माओवादीमा प्रवेश गरेको आरोप छ, के साँच्चै हो त ?
कमाउनकै लागि म व्यापार गर्थेँ, म सिन्धुलीवासीको हकहितमा काम गर्छु भनेर राजनीतिमा आएको हुँ । म दाबीका साथ भन्छु, ममाथि यस्ता आरोप लगाउनेहरुले भोलिका दिनमा मेरो कामको तारिफ गर्छन् । सयौँ व्यक्तिले एउटा व्यक्तिलाई पागल भन्यो भने सही मान्छे पनि पागल बन्न सक्छ । गलत आरोपले सही मान्छेलाई पनि गलत बाटोमा पु¥याइदिन सक्छ । सिन्धुलीवासीलाई मेरो एउटै अनुरोध छ, मेरो नेतृत्व जिल्लाको हितमा हुनेछ । 
तपाईंको आफ्नै दाइ कांग्रेसका युवाहरुको नेतृत्व गर्नुहुन्छ, तपाईं पनि वाईसिएलको नेतृत्वमै हुनुहुन्छ, भोलिका दिनमा पार्टीगत रुपमा तपाईंहरुबीच नै भीडन्त हुने अवस्था आयो भने के गर्नुहुन्छ ?

हाम्रो पुर्खाको अन्त्य तपाईं हामीले नै गरेका हौँ । परिवर्तन चाहेरै हामीले हिजोका दिनमा राणा फाल्यौँ, पञ्चायत फाल्यौँ, राजतन्त्र ढाल्यौँ । यदि हाम्रो एजेन्डा र सिद्धान्त जनताको पक्षमा हुँदाहुँदै पनि हाम्रो अभियानलाई रोक्न मेरो आफ्नै रगत नेतृत्व गरी अगाडि आउँछ भने मैले प्रतिकार गर्नैपर्छ । तर, मेरो दाइ विचारको राजनीति गर्नुहुन्छ, त्यसैले त्यो अवस्था आउँछ भन्ने मलाई लाग्दैन ।

तपाईं माओवादीमा छिरेपछि दाइसँगको सम्बन्ध कस्तो छ ?

हामीबीच बोलचाल नै बन्द छ । बुबाले त घर छाडेर जासमेत भनिसक्नुभयो । काठमाडौँमा दाइसँगै बस्थेँ, अहिले एक्लै बस्न थालेको छु । तर, भोलिका दिनमा मेरो बुबा र दाइले ममाथि गर्व गर्नेछन् । विश्वास गर्नुस्, जिल्लावासीको हितबाहिर गएर काम गर्नेछैन ।
तपार्ईको नेतृत्वबाट जिल्लावासीले के अपेक्षा राख्न सक्छन् ?

हिजोका दिनमा पनि मैले युवाहरुका लागि अफ्नोतर्फ बाट हुने सहयोग गरेकै हुँ । अहिले पार्टीले जिम्मेवारी दिएको छ । तपार्इंहरुलाई समस्या परेमा सम्झनुस्, पार्टीको तर्पबाट र मेरो व्यक्तिगत तर्फबाट  हुन सक्ने सहयोग गर्नेछु ।


Related

विचाररसाहित्य 7358735517020097860

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item