कार्की नियुक्तिको सिफारिसका विषयमा छलफल र विरोध

http://sindhulidarpan.blogspot.com/2013/05/news_6.html
काठमाण्डौ,वैशाख २३ ।
विवाद र विरोधकाबीच संवैधानिक परिषदले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेपछि दलहरुले छलफल गर्ने भएका छन् । नेपाली काङ्ग्रेस र नेकपा एमालेले कार्कीको सिफारिस रोक्न थप कदम चाल्ने वा पछि हट्ने भन्ने विषयमा छलफल गर्दैछन । आज दुई दलले संयुक्त बैठक बोलाएको ती दलका नेताहरुले बताएका छन् । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले कार्कीका विषयमा छलफल गर्ने तयारी भएको तर ठाउँ र समय तय भइनसकेको बताउनुभयो । उहाँले राष्ट्रपति कार्यालयले दवावपत्र बुझाउने की भन्ने विषयमा पनि छलफल भइरहेको पनि बताउनुभयो ।
हिजो बसेको संवैधानिक परिषदको बैठकले अख्तियारमा कार्की सहित लोकसेवा आयोगका कयोदेवी यमी, महालेखा परिक्षकको कार्यालयमा भानुप्रसाद आचार्यलाई सिफारिस गरेको छ । अनुमोदनका लागि हिजो नै संवैधानिक परिषदले राष्ट्रपति कार्यालयमा पठाइसकेको छ । यसैबीच लोकमान सिंह कार्कीको सिफारिसका विषयमा छलफल गर्न राष्ट्रपति डा रामबरण यादवले आन्तरिक बैठक बोलाउनु भएको छ ।
बिहान ११ बजेपछि राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाइएको बैठकमा कार्कीको सिफारिस अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुनेछ । कार्कीको सिफारिस रोक्न नागरिक समाजका अगुवा तथा दलका प्रतिनीधिहरुले नै आग्रह गरिरहेका बेला राष्ट्रपति यादवले आफ्ना सल्लाहकार, सहयोगी समुहको बैठक बोलाउनु भएको हो । कार्कीको सिफारिस विरुद्ध बिहान विद्यार्थी संगठनहरुले क्याम्पस अगाडी विरोध प्रदर्शन गरेका छन् । राजधानकिा क्याम्पस अगाडी चक्काजाम र नारावाजी गरेर विरोध गरेको ती संगठनहरुले जनाएका छन् । त्यस्तै कार्कीको सिफारिस रोक्न माग गर्दै नागरिक समाजका अगुवाहरुले दिउँसो शीतल निवासमा धर्ना दिने भएका छन् । दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा धर्ना दिने नागरिक अगुवाहरुले बताएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !