ललितपुर, ९ फागुन । गुदी कुरामा भन्दा बोक्रा कुरामा विवाद भएको, नेताको व्यक्तिगत स्वार्थ बाझेको र केही नेतामा निर्णय गर्ने अधिकार थुप्रिएकाले संविधान हालसम्म नबनेको सङ्घीयतासम्बन्धी विशेषज्ञले बताएका छन् ।
ललितपुर बार एसोसिएसनले शुक्रबार ‘नेपालको सामाजिक बनोट र सङ्घीयताको स्वरूप’ विषयमा आयोजना गरेको वैचारिक कार्यक्रममा उनीहरूले दलबीच सङ्घीयताको गुदीका रूपमा मुलुक बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक राज्य भए पनि समावेशी र समानुपातिक प्रणाली, अधिकार र स्रोत साधनको बाँडफाँट र विकासको वितरणका विषयमा छलफल नभई प्रदेशको नाम, सङ्ख्या र सीमाजस्ता बोक्रामा बढी बहस भएको र त्यसैमा विवाद रहेको विचार व्यक्त गरे ।
सभासद् श्याम श्रेष्ठले नेपाल बसाइँसराइबाट ककेसियाली र मङ्गोलियाली समुदायबाट बनेको देश भएकाले कुनै एक जातीय समुदायको यहाँ पूर्ण बहुमत नभएको र बाहुल्यलाई स्वीकार गर्दा एक प्रकारको र अस्वीकार गर्दा अर्को प्रकारको सङ्घीयता बन्ने बताए । उनले संविधानसभामा पाखा परेको जनतालाई समावेश गर्नेभन्दा प्रदेशको नाम, सीमा र सङ्ख्यामा बहस र विवाद भएको र नेताहरूको व्यक्तिगत स्वार्थका कारण सहमति हुन नसकेको विचार पनि व्यक्त गरे ।
राजनीतिक विश्लेषक श्रेष्ठले भने –“अखण्ड जिल्ला र क्षेत्रको अडान तथा सीमा निर्धारण आयोग र जनमत सङ्ग्रहका विषयमा मतभेदका कारण सङ्घीयताको विषय नै असहमतिका कारण बनेको हो, जातीय जनसङ्ख्याको सम्मान, सबै भाषा र संस्कृतिलाई मान्यता र सघन बसोवासको शासकीय स्वायत्तपनामा सहमति भए अन्य विषयमा सरल रूपमा सहमति हुन्छ ।”
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पीताम्बर शर्माले नेपाली सामाजिक संरचनालाई राज्य सञ्चालनमा प्रतिविम्बित गर्न, सरकारी ढाँचाले राजनीतिक, आर्थिक तथा सामाजिक असमानता हटाउन तथा जीवनस्तर सुधार्न तथा शक्ति तल्लो तहसम्म विकेन्द्रित गर्न सङ्घीयता आवश्यक भएको बताए ।
बहुजातीय छदेखि आठ पहिचान क्षेत्र बनाउन सकिने
डा शर्माले पहिचान, समावेशी विकास तथा शक्तिको विकेन्द्रीकरण दिन सक्ने सङ्घीयता सबैभन्दा राम्रो हुने र पहिचान र क्षमतालाई मिलाएर लैजाँदा सङ्घीयता दिगो हुने बताए ।
उनले भने –जातीय पहिचान विकासको एक महत्वपूर्ण भाग हो, नेपाल बहुसांस्कृतिक मुलुक भएको कुरालाई स्वीकार गर्दै बहुजातीय छदेखि आठ पहिचान क्षेत्र बनाउन सकिन्छ, त्यसबाट प्रमुख जलाधारलाई संरक्षण गर्दै स्थानीय तहमा स्वशासनलाई बलियो बनाउन सकिन्छ ।
अधिवक्ता, न्यायाधीश तथा राजनीतिक दलका नेताको सहभागितामा आयोजित उक्त कार्यक्रममा ललितपुर बार एसोसिएसनका अध्यक्ष प्रकाश महर्जनले वर्तमान नेपालमा राजनीतिक नेता तथा दलबीच व्यक्तिगत स्वार्थका कारण असहमति, तीतोपना तथा द्वन्द्व बढेको अवस्थामा देशलाई माया गर्ने बुद्धिजीवी तथा विशेषज्ञको धारणा बुझ्नु र उनीहरूलाई सुन्नु आवश्यक भएको बताए ।
एसोसिएसनकै उपाध्यक्ष खिमानन्द अधिकारीले विशेषज्ञलाई समाधान के हो भनी सोध्ने र सचेत वर्गले सो विषयमा चिन्तन गर्ने प्रक्रिया आवश्यक भएको बताए । रासस
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !