माथिल्लो तामाकोसी आयोजनालाई डलर भुक्तानीमा समस्या

http://sindhulidarpan.blogspot.com/2015/02/tamakoshi.html
चरीकोट, ९ फागुन । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई विदेशी मुद्रा डलरमा भुक्तानीमा समस्या आएको छ । लामाबगरको गोंगरमा निर्माणाधीन आयोजनाले विदेशी कम्पनीलाई विदेशी मुद्रा डलरमा भुक्तानी गर्नुपर्ने भएकाले समस्या आएको जनाएको हो ।
विदेशी मुद्रा भुक्तानीका लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिन १० देखि १५ दिनसम्म लाग्ने बताउँदै समस्या समाधान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिएको आयोजनाको मासिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आयोजनाको मुख्य ठेकेदार विदेशी भएकाले उनीहरूले बोलपत्र पेस गर्दा ७५ प्रतिशत विदेशी र २५ प्रतिशत नेपाली मुद्रामा भुक्तानी लिने अवस्थामा सम्झौता भएबमोजिम भुक्तानी दिनुपर्ने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए ।
आयोजनाको मुख्य चारवटा चरणका विदेशी ठेकेदार र निर्माण सुपरीभेक्षणसँगको खरिद सम्झौताअनुसार विदेशी मुद्रामा पनि भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ ।
चरण नं १ ठेकेदार र परामर्शदातालाई हरेक महिना र अन्य ठेकेदारलाई आवधिक रूपमा तीन÷चार महिनामा बिलअनुसार भुक्तानी गर्नुपर्ने हुन्छ ।
पटक–पटक भुक्तानीका लागि यसरी भुक्तानी गर्दा विदेशी मुद्राको हकमा प्रत्येक बिलका लागि हरेकपटक नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने र स्वीकृतिका क्रममा धेरै दिन लाग्ने भएको हुँदा असहज भइरहेको प्रवक्ता न्यौपानेले बताए ।
आयोजनाले विदेशी मुद्रा भुक्तानीका लागि चौमासिक वा अर्धवार्षिक रूपमा एकमुष्ट अधिकतम सीमा तोकी स्वीकृति प्रदान गर्नसमेत सम्बन्धित निकायसँग आग्रह गरेको आयोजनाले जनाएको छ । रासस
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !