सिबी अधिकारी, काठमाडौँ, ६ जेठ । सोनामा तामाङ लाङटाङ हिमालको फेदीमा फैलिएको चौरमा चौँरी चराउँदै थिए । माथिबाट गडगडाहट आवाजसँगै ढुङ्गाहरु खसेजस्तै गरी हिमपहिरो एक्कासि खस्यो । हेर्दाहेर्दै गाउँका घर भत्किए, मानिस पुरिए र भागाभाग भयो ।
यो घटना उनलाई सपना जस्तो लाग्यो । त्यतिबेला उनलाई सपना नभएर विपना भयो जतिबेला पहिरोले घर पुरिएर श्रीमती र नाति गुमाए । भूइँचालोले ल्याएको विपत्तिको कहालीलाग्दो दृश्य अहिलेसम्म झल्झली आउने गर्दछ । हिमपहिरोले गाउँ नै सखाप बनाएको र आफन्तजनको मृत्यु गराएको भएपनि पुस्तेली थातथलो छोड्न उनलाई मन छैन । ‘‘सरकारले सहयोग गरे गाउँमै जाने इच्छा छ”, ७८ वर्षीय सोनामले भने ।
आफू जन्मेहुर्केको गाउँको माटो जस्तो अन्तको माया कहाँ हुन्छ र ? पहिरोपछि काठमाडौँ हेलिकप्टरमा उद्धार गरिएर स्वयम्भुनजिक बसेका सोनामले भने– “यहाँ त निकै गर्मी छ, खाना खान मन लाग्दैन, निद्रा पनि छैन, जोखिम भए पनि गाउँनै फर्किन्छौँ ।”
 |
फाइल फोटो |
लाङटाङ–६ की छेदिन तामाङले पहिरोमा जेठो छोरालाई गुमाए तर उनलाई अहिले त्योभन्दा बढी चिन्ता गाउँ र चौपायाको छ । “गाउँको यादले असाध्यै सताएको छ, चौंरीका हुलहरु कता भौँतारिएका होलान्, यहाँ गर्मीले थलिन लागियो बरु गाउँमै फर्कन चाहन्छु”, उनले भने ।
झन्डै २० वर्षदेखि लाङटाङमा पर्यटन व्यवसाय गर्दै आएकी खामु तामाङलाई पहिरोपछिको जिन्दगी झनै सकसपूर्ण लागेको छ । “आफ्नै गाउँ फर्किन पाए हुन्थ्यो । यहाँ गर्मीले पोलेर मर्न लागियो । खाना रुच्दैन खाको पनि के खाएँ पत्तो हुँदैन, शरीरभरि डाबर र घाउ निस्किसकेको छ, हामी चिसोमा बस्नलाई असाध्यै गाह्रो भयो”, उनले थपे, “गाउँ फर्कने वातावरण सरकारले बनाइदिए उतैतिर खेती कमाएर जीवन गुजारा गर्ने थियौँ ।”
स्थानीय नाम्गेल मिडल बोर्डिङ स्कुलमा ६ कक्षामा अध्ययनरत छेवाङ तामाङले भूकम्प गएको दिनको विभत्स दृश्यले मस्तिस्कलाई झस्काइरहन्छ । माथिबाट पहिरो खस्दै गरेको मानिसहरु भागिरहेको स्कुलका बच्चाहरु रुँदै चिच्याइरहेको दृश्य सम्झँदै भन्छन् ।
लाङटाङ–१ की ६५ वर्षीया पेमा लामा पेसाले चिया पसल गर्थिन् । पहिरोको विपद्ले काठमाडौँमा एक सातादेखि बस्दै आएकी उनले गर्मी खप्न सकेकी छैनन् भन्छिन्– “गाउँमा पशु र खेतीपातीको बढी चिन्ता छ, रातमा निद्रा लाग्दैन ।”
भूकम्पपछि आएको पहिरोबाट आफ्नो घरबार गुमाएका लाङटाङवासी विपद्को जोखिम मोलेर भए पनि फेरि आफ्नै गाउँ फर्कन चाहन्छन् ।
आफ्नो थातथलो छोडेर नयाँ ठाउँमा शरण लिनुपर्दा उनीहरुलाई नरमाइलो लागेको छ । “आफ्नो पहिचान र संस्कृति उतै छ, यहाँ अनौठो ठाउँमा वातावरण पनि मिल्दैन, कसरी बस्ने हामी उतै फर्कन चाहन्छौँ”, लाङटाङ–३ का डिन्डु जाङबाले भने ।
लाङटाङ गाविसका सबै वडा पहिरोले ध्वस्त पारेपछि त्यहाँका १९७ घरधुरीका ४८८ जना परिवारलाई गत वैशाख १५ देखि यही जेठ ३ गतेसम्म उद्धार गरी काठमाडौँ ल्याइएको थियो । विभिन्न उमेरका २०० जना बालबालिका छन् । आमाबुबा नभएका १३ घरधुरीका करिब ५० जना बच्चा छन् । विभिन्न संस्था तथा व्यक्तिहरुको सहयोगमा बिहानबेलुका छाक टार्दै आएका लाङटाङवासीलाई अहिले राजधानीको बसाइँ निकै सकसपूर्ण छ ।
सामूहिक खाना खाइरहेका उनीहरुलाई चर्पीको समस्या छ, सफा पिउने पानीको अभाव छ । प्राकृतिक विपत्तिको घडीमा पनि उनीहरु आफ्नो धर्म र संस्कृतिलाई बिर्सन सक्दैनन् पशुपालन र स्थानीय उत्पादनको मोह त छँदैछ ।
पहिरोले लाङटाङमा घरको नामनिसानै छैन । त्यहाँ १७८ जनाको मृत्यु भएको थियो । जसमा ५० जना विदेशी पर्यटक परेका छन् । करिब तीन हजार ४०० मिटर उचाइमा रहेको रसुवाको महत्वपूर्ण पर्यटकीय क्षेत्र लाङटाङको नौवटै वडा पहिरोले ध्वस्त भएको छ ।
वर्षमा एक सिजन मात्र कमाइ हुने आलु, फापर र करुको खेती हुन्छ । यहाँको मुख्य व्यवसाय भनेको नै पर्यटन हो १५० घरधुरी पर्यटन व्यवसायमा आबद्ध थिए । रसुवाका १८ गाविसमध्ये लाङटाङ सबैभन्दा ठूलो गाविस पनि हो । लाङटाङ, गाङछिम्पु, मार्लापक, नयाकङलगायतका हिमाल यो क्षेत्रमा पर्छन् ।
राजधानी काठमाडौँबाट नजिकको हिमालयन ट्रेक रसुवाको लाङटाङलाई मानिन्छ । स्थानीयको भनाइअनुसार त्यहाँ दैनिक २०० पर्यटक पुग्ने गरेका थिए । रासस
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !