काठमाण्डौ,वैशाख १० ।
दस वर्षसम्म लगातार विद्यालय पठाउँदा पनि कक्षा चढ्न नसकेपछि अभिभावकलाई कस्तो पीडा होला ? त्यो पनि एउटा सन्तान होइन, तीन/तीन जना ।
उत्तरी झ्याकु गाविसका एक दम्पतीका तीनवटै छोरालाई १० वर्षसम्म विद्यालय पठाउँदा पनि कक्षा १ बाट माथि उक्लन सकेनन् । 'केही नलागेपछि गत वर्षदेखि स्कुल पठाउनै छाडिदिएँ,' छोराहरूले पढाइमा कुनै प्रगति गर्न नसकेकामा खिन्न हुँदै जीतबहादुर खत्रीले बताए ।
जीतबहादुर र डिककुमारीका १७ वर्षीय कृष्ण, १६ वर्षीय गणेश र १४ वर्षीय विक्रमलाई स्थानीय निजी र सरकारी गरेर लगातार १० वर्ष विद्यालय डोर्याएर लाने काम डिकले गरिन् । 'तीनै जना राम्ररी नबोल्ने, कुरा नबुझ्ने र चकचके स्वभावका कारण ३/४ वर्ष हुँदादेखि १३/१४ वर्षको उमेरसम्म स्कुल लाने र ल्याउने आफैंले गरें,' डिकले भनिन्, 'सधैं स्कुलमा पढ्दा पनि केही लेख्न र पढ्न नसकेपछि सरहरूले नै दुःख नगर्नुस् भनेपछि पढाइ छुटाइदिएँ ।'
गरिबीको चपेटामा बाँचेका भए पनि जीत दम्पतीले छोराहरूको पढाइमा कुनै कन्जुस्याइँ गरेनन् । नजिकको सिँगटी बजारस्थित निजी स्कुल बस्नेत एकेडेमीमा चार/पाँच वर्षसम्म सबैलाई भर्ना गरिदिए । 'छुकछुके स्वभाव भएकाले विद्यालयबाट फर्केर आउँदा तीनै जनाको लुगा च्यातिएको हुन्थ्यो, खाजा लाने भाँडा फालिएको हुन्थ्यो भने किताबको ठेगान हुन्नथ्यो,' डिकले उनीहरूलाई विद्यालय पढाउँदाको दुःख सम्झिइन् ।
सामान्य मान्छेको भन्दा तीनै जनाको टाउको सानो छ । करिब ४ देखि ५ फिट अग्ला तीनै जना बोल्छन् तर राम्ररी जवाफ फर्काउन सक्दैनन् । तीनै जनाले अहिलेसम्म पैसा चिन्दैनन् । अभिभावकका अनुसार झन्डै १० वर्षको उमेरसम्म रोएरै बिताएका उनीहरूको निजी विद्यालयमा प्रगति नभएपछि कालीनाग उच्चमावि सिँगटीमा सारियो । साना बच्चाको बीचमा १२ वर्ष नाघेका केटाहरूलाई राख्दा असजिलो भएपछि विद्यालयले उनीहरूलाई भर्ना लिन छाड्यो । 'पढाइमा कुनै प्रगति हुन नसकेपछि उनीहरूलाई जतिखेर आए पनि विद्यालयको क्रियाकलापमा भाग लिन दिने तर भर्ना नलिने भन्यौं,' प्राचार्य दाताराम नेपालले भने । हरेक वर्ष भर्ना गराउने दुःख अभिभावकलाई नदिने भनेर त्यसो गरिएको उनले बताए ।
सामान्यभन्दा स-साना टाउको भएकाले सात/आठ वर्षसम्म तीनै जना असजिलो गर्दै हिँड्थे । लड्ला कि भनेर आमाले नै डोर्याएर स्कुल ल्याउने-लाने गर्थिन् । लर्बरिएर हिँडे पनि उनीहरूमा अरूले नसक्ने रूख र भीर चढ्ने, बसको अघिअघि दौडने, जहाँ पायो त्यहीँबाट हाम्फाल्ने अनौठो स्वभाव देखिँदै गयो । 'पछिपछि त बाँदरले झैं क्रियाकलाप देखाउन थाले,' बुबा जीतबहादुर भन्छन्, 'जहाँ चढेर वा हाम्फालेर लडे पनि केही नहुने भयो ।'
स्वभाव अचम्मको हुँदै गएको तीनैजनाले पढाइमा कुनै उन्नति गर्न नसकेपछि ०५८ सालमा उपचार हुन्छ कि भनेर सदरमुकाम चरिकोट ल्याएको जीत सम्झन्छन् । 'आर्थिक अभाव कमजोर भएकै कारण दोलखा र काठमाडौंका केही देवीदेवताको मन्दिर घुमाए तर स्वभावमा कुनै परिवर्तन भएन,' दम्पतीले भने ।
उनीहरू बहिरालगायत शारीरिक अपाङ्गता भएका पनि होइनन् । जहिल्यै बालकको जस्तै व्यवहार देखाउने गरेकाले जीत र डिककुमारी अहिले भने निकै अत्तालिएका छन् । आफ्ना तीन छोराको अनौठो र बुद्धिविहीन स्वभावबाट अत्तालिएका जीत गत वर्ष कमाउन सकिन्छ कि भनेर विदेश पनि गए । 'केही होला कि भनेर गएको छ महिनामै खुट्टा भाँच्चिएर र्फकनुपर्यो,' निराश जीतले दुःखेसो पोखे, 'अब के उपाय होला छोराहरूलाई सामान्य मान्छे बनाउने ?'
संकलक:टिका पुन मगर द.कोरिया
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !